काठमाडौ। बडा दशैंको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका, जमरा र आशिर्वाद ग्रहण गरी मनाइँदै छ । यस वर्षको विजयादशमीको टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा टीका लगाउन सकिन्छ । आजको दिन घटस्थापनाका दिन दशैंघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ । यस दिन पूर्व फर्किएर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टीका र जमरा ग्रहण गर्ने र पश्चिम फर्किएर टीका लगाइदिने व्यक्तिले आशीर्वाद दिए सुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने शास्त्रमा उल्लेख छ । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसादका रूपमा टीका ग्रहण गर्न सक्नेछन्।
यसैगरी विजयादशमीको अवसरमा देशभरका शक्तिपीठहरूमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। श्रद्धालुहरू शक्तिस्वरूपा देवीको आराधनामा पूजाअर्चनालगायत विभिन्न धार्मिक कार्यमा सहभागी भएका छन्।