काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले वर्तमान सरकार ढल्ने चर्चा भइरहेकाबीच आवश्यकता परेमा सरकारलाई साथ दिन तयार रहेको बताएका छन् ।
संसद्का दुई प्रमुख दल मिलेर बनेको वर्तमान सत्ता गठबन्धन ढल्ने हो भने देश अप्ठ्यारो मोडमा पुग्ने उनी बताउँछन् । “सरकार ढाल्न लागे टेवा दिन हामी तयार छौं,” श्रेष्ठले भने, “तर सरकार ढाल्नु हुँदैन, यसपछि देशले के गति लिन्छ भन्ने प्रश्न अनुत्तरित हुनेछ।”
श्रेष्ठले सामान्य अवस्थामा पनि ठूला दलहरूबीच सहकार्य हुँदै आएको बताउँदै भने, “अघिल्लो दिन तीन महिनामै लखेट्न खोज्नेहरू अहिले ३०० दिन पुग्दा पनि किन ठोस काम देखाउन सकेनन?”
उनले नीति तथा कार्यक्रममा सांस्कृतिक सम्पदाप्रति गरिएको बेवास्तालाई पनि गम्भीर त्रुटिका रूपमा औंल्याए । “सांस्कृतिक सम्पदामाथि सरकारको ध्यान छैन, यो नीतिगत कमजोरी हो,” उनले भने ।
श्रेष्ठले राष्ट्रिय हितलाई मध्यनजर गर्दै अनावश्यक अस्थिरता ल्याउने प्रयास नगर्न सबैलाई आग्रह गरेका छन् ।