काठमाडौ । युएईमा आयोजित युनिटी कप टी–२० आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्टइन्डिजसँग पराजित भएको छ । नेपाललाई वेस्टइन्डिजले १० विकेटले हराएको हो । नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै पनि विकेट नगुमाई पुरा गरेको छ । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए । सुरुवात राम्रो गरेर पावरप्लेमा ३७–० को अवस्थामा रहेको भए पनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमाउन पुग्यो । वेस्टइन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक–एक विकेट हात पारे । नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ ।