काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गरेका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले यस्तो टिप्पणी गरेका हुन् । वर्ताैलाले कर्मचारीहरुमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए । कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरुलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुने समेत उनको भनाइ छ ।
प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको आरोप बर्ताैलाको छ ।गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले मंगलवारको सभाको बैठकमा नाराबाजी गरेका थिए ।