काठमाडौँ । किरात बायुङ राई सुम्निखिम (किबारासु)को प्रस्तुतिमा ‘बायुङ राई’ सलङ (गीत)को भिडियो सार्वजनिक भएको छ । बायुङ राईहरुको मौखिक परम्परामा आधारित अलिखित तुम्लो(मुन्दुम) दर्शन, संस्कार, संस्कृति, तुम्लोयालो, भाषा तथा मौलिक जीवनशैलीको विविध पक्षहरुलाई समेटेर तयार पारिएको गीतको रचना बायुङ तुम्लो अध्येता किशोर बायुङ राईले गरेका हुन् । गीतमा लय संयोजन तथा संगीत स्रष्टा किशोर बायुङ राईले नै गरेका छन् । गीत तयार पार्नको निम्ति आवश्यक महत्वपुर्ण पथप्रदर्शन र विशेष सांगितिक सहयोग संगीतकार, गायक तथा संगीत प्रशिक्षक मण्डल साम्पाङले गरेका छन् । गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ योगेन मुकारुङले गरेका छन् ।
गीतको सार्वजनिक कार्यक्रममा करिब ५० जना बायुङ राईहरुको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता गीत निर्माण समितिको संयोजक प्रवेश बायुङ राई गरेका थिए । यो गीत बायुङ राईहरुको मौलिक पहिचानको निम्ति एउटा बलियो आधार र दस्तावेज रहेका बताइएको छ । बायुङ राई गीतले समग्र बायुङ राईहरुको मौलिकता, मुन्दुमी इतिहास, पहिचान, संस्कार संस्कृति तथा मौलिक जीवनशैलीको पक्षहरुलाई प्रभावकारीरुपमा पस्किएको छ ।
बायुङ राई समुदायको तथा वर्तमान नेपाली सिने जगतमा सुन्दर सम्भावनाका साथ अघि बढेकी कलाकार अनुषा बायुङ राईले पनि यो गीतले बायुङ राईहरुको मौलिक संस्कार संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा लैजानको निम्ति ठूलो आधार रहेको कुरा बताइन् ।
प्रस्तुत गीतमा गायिकाहरु शान्ति बायुङ राई, रोकेमि बायुङ राई, सम्पदा थुलुङ राई, यमुना बायुङ राई र ज्ञान कुमारी बायुङ राई(प्रकृति) तथा गायकहरु दिनेश बायुङ राई, आइकुमार बायुङ राई, कर्ण बायुङ राई, रविन बायुङ राई र किशोर बायुङ राईको स्वर रहेको छ ।
क्यामेरामा प्रवेश बायुङ राई र प्रदीप बायुङ राई रहेका छन् भने एडिट डिजाइन प्रवेश बायुङ राई रहेको छ । गीत निर्माण निम्ति व्यवस्थापन जीतेन बायुङ राई, प्रेम कुमारी बायुङ राई र शोभा थुलुङ–बायुङ राईको रहेको छ भने गीतको उत्पादन र निर्माण किरात बायुङ राई सुम्निखिमले गरेको हो ।
