Siddarth bankविज्ञापन
समाज

पर्सामा झाडापखालाको लक्षण देखा परेका २ जनाको मृत्यु

पर्सामा झाडापखालाको लक्षण देखा परेका २ जनाको मृत्यु

पर्सा । पर्सामा झाडापखालाको लक्षण देखा परेका दुई जना बिरामीको मृत्यु भएको छ । 

नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयरमा एक एक जना बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना पोखरिया नगरपालिका ९ की महिला र वीरगञ्ज महानगरपालिका १२ का पुरुष रहेका छन् । 

बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको वीरगञ्जका प्रवक्ता डाक्टर उदयनारायण सिंहले जानकारी दिएका छन । वीरगञ्जमा झाडापखाला संक्रमण समुदायस्तरमै फैलिएको छ ।  शुक्रबार राति वीरगञ्ज महानगरपालिका १२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो । 

नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा संक्रमितको परीक्षण गर्दा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको हो । हैजाको संक्रमण देखिएका ११ ठाउँका पानीका नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा ल्याइएको छ । 

शनिबारसम्म  वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १३ र १६ सम्म संक्रमण फैलिएको पुष्टि भएको छ । हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ  ।  

१२० जना बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन । वीरगञ्ज महानगरले पनि हैजा संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउने निर्णय गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले संक्रमणको फैलावट रोक्न र संक्रमित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न निर्देशन दिएका छन । 

संक्रमण फैलिएपछि महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *