चितवन । बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएका ‘राम’ र ‘देव’ नाम गरेका गैँडाका दुई भाले केटाहरू सौरहामा हुर्कदै आएका छन् ।
निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार हुने गरेको छ । पन्ध्र विस दिनको अवस्थामा घाईते भेटिएका दुबै गैडा अहिले दुई वर्षको भैसकेका छन् । हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित रहन सफल भएका छन् ।
देवलाई भरतपुरको देवनगरबाट विसं २०८० जेठ ३० गते उद्धार गरिएको केन्द्रले जनाएको छ । रामलाई सौराहकै बाघमाराबाट विसं २०८० असार १ गते ल्याइएको हो । गैँडाका बच्चा प्रायः वैशाख–असारको ‘सिजन’मा जन्मिन्छ ।
प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम झेल्नुपर्ने हुने गर्दछ । हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ । यहाँ हुर्काइएका केही गैँडाहरू अन्य देशमा उपहारस्वरूप पठाइएको र केही गैँडाहरू प्राकृतिक जङ्गलमा पुनःस्थापन गरिएका छन् ।