काठमाडौं । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व पश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना सैनिक घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो पौने ३ बजेको समयमा नम्बर २ राजदल गण तनहुँबाट धनुषातर्फ उपसेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको सेनाका ४ वटा ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
करिब २२ जना सैनिक सवार ट्रक सडकको सिमानामा रहेको पुलबाट करीब १०–१२ फिट तल खोल्सामा खसेको हो ।
दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले अन्य ट्रकहरुमा रहेका सेनाको सहयोगमा घाइतेहरुको उद्दार गरी हेटौडा अस्पताल पुर्याएका थिए ।