काठमाडौं । बूढीगण्डकीको बाढीले सोती बजारको पक्की पुल बगाएको छ। आरूघाट गाउँपालिकास्थित सोती बजार र मान्बू जोड्ने बूढीगण्डकी नदी माथिको पुल बगाएको हो।
चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा झोलुंगे पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर आकाश कँडेलले जानकारी दिएका छन्।
बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ। त्यहाँको बस्ती भने सरकारले मुआब्जा दिएर हटाएको थियो।
इन्स्पेक्टर कँडेलका अनुसार चुमनुब्री गाउँपालिका–६ को लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएपछि बाढी आएको हो।
