काठमाठौं । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा माओवादी केन्द्रबीच आज एकता हुँदै छ ।
ललितपुरमा आज दिउँसो माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गर्ने कार्यक्रम तय भएको हो । गएको चैत ३ गतेको नेसपाको तीनबुँदे निर्णयका आधारमा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हो । पूर्व सहमति अनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेका थिए ।
त्यसपछि गंगानारायण श्रेष्ठ एकता प्रक्रियामा अघि बढेका थिए ।
श्रेष्ठ नेसपा संयोजकमा चुनिएका छन् । २९ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठका पक्षमा उभिएका छन् । १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना एकताका पक्षमा उभिएका संयोजक श्रेष्ठले जिकिर गरेका छन् ।
सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन् । ललितपुरस्थित एकान्तकुनामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकबाट पार्टी पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोकिएको छ ।