एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध यसअघि लगाएका सबै प्रतिबन्धहरू हटाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पको यो कदमसँगै सिरियाका पूर्वराष्ट्रपति बसर अल असदको सत्तापलट भएको ६ महिनापछि देशमा लगानीका अवसरहरू खोल्ने सम्भावना बढेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पको आदेशले सिरियाको विकास, सरकारको सञ्चालन र देशको सामाजिक संरचनाको पुनर्निर्माणका लागि महत्वपूर्ण संस्थाहरूलाई प्रतिबन्धबाट राहत प्रदान गरेको हो ।
सन् २०११ मा देशमा गृहयुद्ध शुुरु हुनुअघि नै सिरियाली सरकार भारी अमेरिकी वित्तीय प्रतिबन्धहरूको सामना गरिरहेको थियो । असदको नेतृत्वको सरकारले सिरियाली अर्थतन्त्रलाई पतनको संघारमा पुर्याएको थियो । ट्रम्पले मेमा मध्यपूर्वको भ्रमणका क्रममा सिरियाका लागि प्रतिबन्ध हटाउन प्रतिबद्धता जनाएका थिए ।