काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा उत्रेकाहरुमाथि सुरक्षा निकायले अत्याधिक बल प्रयोग गर्नु दुःखद भएको बताएको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै यस प्रकारका प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको भन्दै नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी यथोचित सम्बोधन गर्न आग्रह गरेको छ ।
काठमाडौंको माइतीघरबाट शुरु भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको ।
प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरु घाइते भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगले घाइतेहरुको निःशुल्क उपचार गर्न अनुरोध गरेको छ । आयोगले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनबमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार रहेको उल्लेख गर्दै यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रुपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको निशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्नसरकारलाई निर्देशन समेत दिएको छ ।
आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित प्रदर्शनरत पक्षलाई समेत अनुरोध गरेको छ । आयोगले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न र पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन्न सरकारलाई अग्रह गरेको छ ।