मुख्य समाचार

तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला

तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला

काठमाडौ । काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ भने एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । हनुमानढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी छन् । काठमाडौंमा भने कर्माचार्य र जोशी मात्र पुजारी रहेका छन । प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्दछन् । मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गरेका छन् । मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती छ । वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गर्ने गरिन्छ ।।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *