Siddarth bankविज्ञापन
समाज

आज थारु समुदायले अटवारी पर्व मनाउँदै

आज थारु समुदायले अटवारी पर्व मनाउँदै

काठमाडौं । तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । 

यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि अग्रासन दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । 

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको गरिन्छ । आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारु समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पर्‍याउने गरिन्छ । 

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ । महाभारत कालमा भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अटवारी मनाउँदै आएका छन् । भीम जस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारु समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारु समुदायको बसोबास धेरै रहेका जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

थारु समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र  पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *