समाज

आज खग्रास चन्द्रग्रहण लाग्दै

आज खग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं । आज भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । 

यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १० बजेर ११ मिनेटमा ग्रहण स्पर्श, ११ बजेर १५ मिनेटमा सम्मीलन, ११ बजेर ५६ मिनेटमा मध्य, १२ बजेर ३८ मिनेटमा  उन्मीलन र १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ। 

कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई शुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने बताइएको छ । 

धार्मिक मान्यता अनुसार ग्रहणको केही घण्टा अगाडिदेखि नै सुतक लाग्छ। आज दिउँसो १ बजेर बजेदेखि  बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। 

चन्द्रग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता कार्यलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने कार्य गर्न निषेध गरिएको शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ।

खगोल विज्ञानका अनुसार जब सूर्यलाई पृथ्वीले र पृथ्वीले चन्द्रमालाई घुम्छन् । आ–आफ्नो कक्षमा घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा आउँछन् । यसो हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।

सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं । तर, जब पृथ्वी बीचमा पर्छ, पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्छ । यो अवस्थामा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूर्णरुपमा ढाकेमा खग्रास चन्द्रग्रहण र आंशिकरुपमा ढाकेमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

ग्रहणलाई नाङ्गो आँखाले भने नहेर्न वैज्ञानिकहरुको सुझाव छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *