काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा आंशिक देखी साधारणतया बदली रही देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेश का एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ।
आज मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू-भाग लगायत देशका पहाडी भू-भागका पनि धेरै स्थानहरूमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्चपहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। उक्त मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।