काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठकमा ‘संघीय निजामती सेवा विधेयक,माथि दफावार छलफल हुने भएको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने कार्यसूची तय गरिएको छ ।
निजामती कर्मचारीको बढुवामा आरक्षणको प्रावधान नरहने भएको छ । निजामती सेवा प्रवेशमा मात्रै आरक्षण रहने गरी संघीय निजामती सेवा विधेयक अगाडि बढाउने सहमति राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सहमति जुटेको हो ।
सरकार तयार नभएपछि सांसदहरू निजामती सेवा प्रवेशमा आरक्षण रहने र कर्मचारी बढुवामा नरहने प्रावधान नै राखेर अगाडि जान तयार भएका हुन् । सेवा प्रवेशमा भने विधेयकमा आरक्षणको व्यवस्था छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जुटेका कतिपय सहमतिलाई उल्ट्याउने निर्णय लिएको छ । जसमा कर्मचारीको पदपूर्तिदेखि पद सिर्जना लगायतका विषय रहेका छन् ।
प्रतिनिधिसभाले सहसचिवभन्दा माथि सचिवभन्दा तल अतिरिक्त सचिवसचिव पदको सिर्जना गर्नेगरी संघीय निजामती सेवा विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो । तर यो पद आवश्यक नरहेको भनेर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उल्टायाउने निर्णय लिएको छ ।
मुख्यसचिवको कार्यकाल दुई वर्ष राख्ने लगायतका विषयलाई भने विधायन समितिले प्रतिनिधिसभाकै निर्णय सदर गरेको छ ।