समाज

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने, देशभर सार्वजनिक बिदा

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ ।

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । 

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा भदौ २४ गते मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७२ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी संरचनामाथि आगजानीसमेत भएको थियो ।   

मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । 

सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

त्यस्तै, आन्दोलनका क्रममा निधन भएकाहरूको स्मरणमा ‘जेन–जी’ जागरण स्मरण पार्क निर्माण गर्ने निर्णय भएको छ । २३ र २४ भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने दुई हजार ३१६ जना घाइते भएका थिए । 

जसमध्ये देशका विभिन्न अस्पतालमा २८३ जना घाइतेहरू उपचाररत छन् । अन्य भने निको भएर घर फर्किसकेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *