समाज

आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं  । नेवार समुदायले भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाउने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि देशभर आरम्भ गरिँंदैछ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा नेवार समुदायले यस दिन गाई वा मानिसलाई गाईका रुपमा सिंगारी समुदायमा परिक्रमा गर्ने प्रचलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

यसदिन दिवङ्गत भएका आफन्तको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । राजा प्रताप मल्लले पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियााले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आदेश दिएको सम्झानामा यो पर्व शुरु भएको ऐतिहासिक मान्यता छ । 

सापारु समेत भनिने यो पर्व बिशेष गरी नेवार समुदायको मौलिक पर्व हो । हिन्दु धर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा समेत उल्लेख छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगतिलाई समेत कलाका माध्यमबाट उजागर गर्ने गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायत स्थानमा यो पर्व मनाइन्छ । 

गाईजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *