एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई नैतिकता अनुसन्धान बाँकी रहेको भन्दै निलम्बन गरेपछि प्रधानमन्त्री कार्यालयमा उथलपुथल भएको थियो ।
अदालतको फैसलाले देशको शीर्ष कार्यालयलाई अस्तव्यस्ततामा धकेलेपछि राजाले बिहीबार पूर्व रक्षामन्त्री फुमथाम वेचायाचाईलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । थाइ सरकारले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा नयाँ मन्त्रिपरिषद्ले आफ्नो पहिलो बैठकमा कार्यवाहक प्रधानमन्त्रीका रूपमा फुमथामको भूमिकालाई अनुमोदन गरेको जनाइएको छ ।
यसअघि सिनावात्रालाई निलम्बिन गरिएपछि शक्ति यातायात मन्त्री र उप–प्रधानमन्त्री सुरिया जुङरुङराङकिटलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । सुरियाले एक दिन मात्र काम गर्न पाएका हुन् ।