काठमाडौ। हिमाली कला संस्कृतिको संवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले सोमबारबारदेखि सोलुखुम्बुको सल्लेरीमा हिमाली कला सम्मेलन शुरु भएको छ । थेक्छेन पेमा छोलिङ गुम्बाको आयोजनामा शुरु भएको कला सम्मेलनमा १३ जना कलाकर्मीहरुको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन सोमबार कलाकारहरुले हिमाली संस्कृति झल्काउने चित्रहरु कोरेका छन्। जेठ ४ गतेसम्म चल्ने सम्मेलनले युवा पुस्तालाई हिमाली कला संस्कृतिमा आकर्षित गर्ने विश्वास लिइएको छ । सम्मेलनका क्रममा सोलुखुम्बका विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई दैनिक दुई घण्टा सहभागिता गराइने जनाइएको छ । कला सम्मेलन उद्घाटन समारोहमा नेपाल ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नामगेल ज्याङ्बु शेर्पा, कला क्षेत्रका अग्रजहरुका साथै सोलुखुम्बुका स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा हिमाली कला संस्कृति झल्काउने विधिक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।