काठमाडौं । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज (शनिबार) तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौरा घरमा भित्र्याउँदै छन् ।
स्थानीय भाषामा भितरीकी गौरा अर्थात ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गर्दछन् । आजका दिन ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ ।
आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही छ । आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन् । ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने प्रचलन छ । तागाधारी पुरुषहरूले जनै धारण गरे जस्तै महिलाहरूले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको छ ।
आज साँझको समयमा ब्रतालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई आइतबार दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरूले धारण गर्ने गर्दछन् । गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाने चलन छ ।
मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्यदिन आइतबार गौराष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
