काठमाडौं । यसपालि नेपालमा चाँडै मनसुन भित्रिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा अगाडि नै मनसुन प्रवेश हुने सम्भावना रहेको जनाएको छ ।
नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख भए पनि यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिएको महाशाखाले जानकारी दिएको हो । मंगलबार भारतको असामका केही भू–भागहरू तथा भुटान र बंगलादेशको पूर्वी भू–भागसम्म मनसुन आगमन भएको छ । यसैसाताको अन्त्यसम्ममा नेपालमा मनसुन भित्रिने महाशाखाले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा मंगलबार बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा उनले जानकारी लिएका हुन् ।
विभागका सबै स्टेशन चुस्तदुरुस्त अवस्थामा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत रहन प्रधानमन्त्रीले आग्रह गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको बताए । यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने विभागले जनाएको छ ।