मुख्य समाचार

अमेरिका र साउदी अरबबीच १ खर्ब ४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरबबीच १ खर्ब ४२ अर्ब डलरको हतियार सम्झौता

एजेन्सी । अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको हतियार सम्झौता गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँ सम्बन्धी उपकरण तथा सेवाहरू लिने गरी अमेरिकासँग सम्झौता गरेको हो । 

सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् । 

त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको छ । साउदी अरबले ‘अमेरिकामा लगानी गर्ने प्रतिबद्धता’ समेत जनाएको ह्वाइट हाउसले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी प्रविधि फर्महरूबाट दुवै देशमा अत्याधुनिक रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ  यात्रुवाहक विमान निर्यात गर्ने भएको छ । 

सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदीका युवराज मोहम्मद बिन सलमानले हस्ताक्षर गरेका हुन् ।  दुई देशबीच भएको सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसको भनाइ छ । राष्ट्रपति ट्रम्प पश्चिम एसियाको चार दिने भ्रमणका क्रममा मंगलबार साउदी अरबको राजधानी रियाद पुगेका हुन् । उनले कतार र संयुक्त अरब इमिरेट्स यूएईको भ्रमणपनि गर्नेछन । 

यसैबीच, अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।  साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *