ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ यासा लोदेन क्षेत्रमा रहेका छ्यो थाङ्गी छ्यो पोखरी पर्यटकहरुको रोजाइमा पर्दै गएको छ ।
विस्तारै प्रचार प्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएको हो । यस क्षेत्रका याक गोठलाहरुका अनुसार पोखरीले मौसम अनुसार रङ्ग बदल्छ । कहिले आकाश जस्तै निलो हुन्छ भने कहिले रातो हुने गरेको स्थानीयको भनाइ छ ।
पछिल्लो समय यस क्षेत्रको प्रचार प्रसार हुन थालेसँगै पर्यटकहरु बढेका छन । यहाँ घुम्न आउनेहरु पर्यटकहरु पूर्वको मन मुस्ताङ उपनाम दिने गरेका छन् । यस पोखरीलाई कुइँने पोखरी भनेर पनि चिन्ने गरिन्छ । यहाँका धेरै पोखरीहरुको मौलिक नाम भन्दा अन्य नामबाट प्रचार हुदै गएकोमा भने स्थानीयको चिन्ता छ ।
यस क्षेत्रमा रहेको पोखरीहरुको प्रचार प्रसार गर्नका लागि चालुआर्थिक वर्षमा लोदेन क्षेत्रमा भिडियो सम्मेलन गर्नका लागि पालिकाले आवश्यक बजेट विनियोजना गरेको जनााएको छ । एक दिनमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ देखि यातायातका साधन प्रयोग गरेर सिम्बुक पुग्न सकिन्छ ।
त्यसपछि पदमार्ग प्रयोग गरेर छिटो हिड्नेहरु एक दिन र अलिक बिस्तार हिड्ने पर्यटकहरु दुई दिनमा लोदेन क्षेत्र पुग्न सकिन्छ ।