काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शासन व्यवस्थाबाट मुक्त भएर जनताले स्थापना गरेको गणतन्त्र अझै सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।
बिहीवार काठमाडौंको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले राज्य संयन्त्रलाई सेवा केन्द्रित बनाउन गणतन्त्रले खेलेको भुमिकालाई स्मरण गर्दै नागरिक सर्वोच्चता सबैभन्दा ठूलो भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधारको आवश्यकता भएपनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणालीमार्फत मात्र गर्न सकिने जिकिर गरे । ओलीले इतिहासमा राजतन्त्रले जनतासँग भएका सम्झौता पटक–पटक उल्लंघन गरेको स्मरण गर्दै मुकुटको आडमा जनताको सेवा नभई जनतामाथि शासन गरिएको बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान समयमा पनि नागरिक अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरे । जनताको हित र अभिमतभन्दा शाही इशारालाई ठुलो भन्न नसकिने ओलीको भनाइ छ ।
निरंकुशतन्त्र र गणतन्त्रमध्ये कुन उत्तम हो भन्ने समाजको बहसको विषय नभएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ ।