चितवन । चितवनको भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर पक्षी घुँगीफोर गरुडका लागि प्रमुख प्रजनन केन्द्रको रूपमा विकसित हुँदै गएको छ ।
पछिल्ला वर्षहरूमा यहाँ व्यापक संख्यामा घुँगीफोरहरू आएर गुँड बनाई बच्चा हुर्काइरहेका छन् । प्रजनन याममा घुँगीफोरहरूको गतिविधि हेर्न पक्षी अवलोकनकर्ता र संरक्षणकर्मीहरू उत्साहका साथ पुग्ने गरेका छन् ।
हाल पक्षी अवलोकनका लागि मात्र पोखरी क्षेत्र खुल्ला गरिएको छ । प्रजनन याममा डुङ्गा सञ्चालनजस्ता गतिविधिहरू बन्द गरिएको छ । पोखरी वरपर हाल करिब १ सय ४ वटा रुखहरूमा ४ सय ७८ वटा गुँड फेला परेका छन् । घुँगीफोर गरुडहरू विशेषतः सुक्खा रुखहरूमा गुँड बनाउने गर्छन् र पानीछेउबाट घुँगी तथा साना जलचर खान खोज्ने गर्छन् ।
पहिले जाडोयाममा साइबेरियन चरा गरेकोमा अहिलेका वर्षहरूमा स्थायी रूपमा बसोबास गर्ने रैथाने पक्षीहरू देखा पर्न थालेको स्थानीय बताउँछन् ।