समाज

निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भुमिकामा स्थापित गरिने

निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भुमिकामा स्थापित गरिने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई निर्धारित समय अगावै सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमको निगरानी सूचिबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनियता अभिवृद्धि गर्नु सरकारको महत्वपूर्ण कार्यसूचि भएको बताएका छन् । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा मन्त्री पौडेलले  यस्तो बताएका हुन् । पौडेलले  पहिलो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त भएको उत्साहजनक नतिजालाई वाह्य पुँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रमहरु अघि बढाइने बताए । निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सिर्जना गर्न अध्यादेश मार्फत कानूनमा गरिएको सुधारबाट निजी क्षेत्र उत्साहित भएको मन्त्री पौडेलको भनाई छ  ।

सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिने पनि पौडेलले बताए । आर्थिक वृद्धिका लागि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत, कानूनी, प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भुमिकामा स्थापित गर्ने बताए ।  उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदन क्रमशः कार्यान्वयन गर्ने पनि मन्त्री पौडेलले बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *