काठमाडौं । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रविधिको विकासले सुशासन र पारदर्शिता कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन् ।
बुधबार काठमाडौांम सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले नयाँ –नयाँ प्रविधिले मुलुकको सर्वाङ्गिण विकासमा सहयोग पुगिरहेको बताए । प्रविधिको उच्चतम उपयोग गर्दै सूचना तथा सञ्चारको विकासका लागि निजी क्षेत्र, सरकार र नागरिक समाज एक भएर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
डिजिटल बागमतीका लागि आधारभुत पूर्वाधारका रुपमा रहेको डेटा सेन्टर स्थापनाका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययनको काम गरिरहेको पनि लामिछानेले जानकारी दिए । प्रविधिको समुचित प्रयोग गर्दै डिजिटल वागमतीका लागि स्वास्थ्यमा टेलिमेडिसिन, यातायाततर्फ लाइसेन्स प्रिन्ट र इम्बोस्ड नम्बर अनिवार्य प्रयोगका विषय तथा सवारी अनुमति पत्र जाँचका लागि उपकरण हस्तान्तरण र अपराध नियन्त्रणका लागि डिजिटल ल्याबहरु निर्माणको काम भइरहेको पनि लामिछानेले बताए ।