काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
