काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने धारणा राखेका छन् ।
बैठकको विशेष समयमा सांसद नारायणदत्त मिश्रले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने उल्लेख गर्दै गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । सांसद नरबहादुर विष्टले स्वास्थ्य परीक्षणको निम्ति ज्येष्ठ नागरिक घण्टौँसम्म लाइन बस्नुपरेको उल्लेख गर्दै स्वास्थ्योचारको निम्ति अनलाइनबाट टिकट लिन सकिने व्यवस्था मिलाउनुपर्ने माग गरे ।
जनतालाई सर्वसुलभ न्याय सेवा दिनुपर्ने उनको भनाइ छ । सांसद विष्टले राजनीतिक दल वा नेताको पहुँचको आधारमा भन्दा पनि देश र जनताको आवश्यकताको आधारमा सरकारले बजेट ल्याउनुपर्ने धारणा राखे ।
सांसद जयन्तीदेवी राईले गत वैशाख ३१ गते हुम्ला जिल्लामा भएको बाढीपहिरोका कारण भएको क्षतिको तथ्याङ्क लिएर पीडितलाई क्षतिपूर्तिको माग गरिन् । सांसद राईले पछिल्लो समय युवाको विदेश पलायन बढ्दै गएको उल्लेख गर्दै युवा जनशक्तिलाई देशभित्रै राख्नका लागि शिक्षा प्रणालीमा सुधार गर्दै उद्योग र कलकारखाना खोली रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।