काठमाडौं । राष्ट्रिय बाल दिवस आज देशभर मनाइँदै छ ।
यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन शुुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो ।
नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन बाल मन्दिर स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकार सम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धता अनुरूप सरकारले बाल अधिकार सम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सन्देशमा बालद दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताएका छन् ।
