काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिदैँ मन्त्री अधिकारीले मलमा अत्याधिक अनुदान रहेका कारण उपलब्ध बजेटले सम्बोधन गर्ने गरि मल ल्याउन कठिन भएको बताएका हुन्।
उनले अहिले युरिया मलमा ८२ प्रतिशत, डिएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिए। मन्त्री अधिकारीले आफु मन्त्रालयमा आएपछि मल आपूर्तिलाई सहज बनाउन प्राथमिकताका साथ काम गर्दै आएको जिकिर गरे।
मन्त्री अधिकारीले हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन मल आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको बताए।
खरिद गरि ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
मन्त्री अधिकारीले मलको आपूर्ति तथा बितरण कार्यलाई सहज बनाउन कानूनी तथा प्रक्रियागत कार्यलाई सहज बनाइएको र समयमा नै मल ल्याउन सार्वजनिक खरिद नियमावलीमा उचित व्यवस्था गरिएको बताए।