काठमाडौं । मधेशसहित २५ आयुर्वेद अस्पताल तथा केन्द्रबाट ५ वर्षसम्मका बालबालिकालाई बिहीबार स्वर्णविन्दु प्राशन खुवाइएको छ ।
मधेश प्रदेशका पर्सा, धनुषा, सर्लाहीसहित २१ जिल्लाका २५ आयुर्वेद अस्पताल तथा केन्द्रबाट बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दु प्राशन खुवाइएको हो ।
बालबालिकाको शारीरिक मानसिक वृद्धि विकासका लागि र शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न पुष्य नक्षत्रका दिन स्वर्णप्राशन खुवाइएको वैकल्पिक चिकित्सा विभागले जनाएको छ । यो आर्थिक वर्षसँगै देशभरका २१ जिल्लाका २५ ठाउँबाट शुरू गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रम आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू हुने गरी काम भइरहेको विभागले जनाएको छ ।
यो कार्यक्रम २१ जिल्लामा लागू गर्नुअघि चालू आर्थिक वर्षमा ३ वटा जिल्ला– दाङ, चितवन र पर्सामा नमूना कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो । ती बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएकाले यो कार्यक्रम देशव्यापी सञ्चालन गर्ने लक्ष्यका साथ यो वर्षदेखि लागू भएको हो ।
हरेक महिनाको पुष्य नक्षत्रका दिन सरकारले स्वर्णविन्दु प्राशन खुवाउनेछ । बालबालिकालाई फेरि पनि स्वर्णविन्दु प्राशन खुवाउन अबको २८ दिनमा नजिकको आयुर्वेद अस्पतालमा लान वैकल्पिक चिकित्सा विभागले अनुरोध गरेको छ । आयुर्वेद शास्त्र अनुसार बिहानको समयमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । झन्डै ५ हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा वर्णन गरिए अनुसार सुनको भष्मलाई घ्यु र महमा मिसाएर बनाएको लेहलाई थोपा स्वरूप खुवाउने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ ।
स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो ।