समाज

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट शुरु

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट शुरु

काठमााडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट शुरु भएको छ ।

भाद्र शुक्ल द्वादसीका दिन आज हनुमानढोका अगाडि १० बजेर ३१ बजेको साइतमा इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै जात्रा शुुरु भएको हो । 

आज बेलुकी कुमारी, गणेश र भैरवलाई तलेजु मुलचोकमा ल्याइनेछ । यसपछि भदौ २१ गते शनिबार कुमारी, गणेश र भैरवको तल्लो टोल यात्रा, भदौ २२ गते आइतबार माथिल्लो टोल रथ यात्रा तथा भदौ २६ गते बिहीबार रथ बिचको टोल यात्रा सम्पन्न हुने बताइएको छ । 

जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्राकै क्रममा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा गर्दै तल्लो टोलहरू र माथिल्लो टोलहरूमा परिक्रमा गराइन्छ । 

इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः बसन्तपुर नै पुर्रुयाएपछि इन्द्रजात्रा पर्व सकिन्छ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि इन्द्रजात्रा समाप्त हुन्छ । 

सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने प्रचलन छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । 

आठ दिनसम्म काठमाडौंका विभिन्न ठाउँमा भक्कु नाच, हलचोकको सवाभकु, भक्तपुरको महाकालीनाच, मजिपातको मजिपा लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा किलागलका पुलुकिसी नाच नचाउने गरिन्छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका ठाउँमा धुमधामका साथ इन्द्रजात्रा मनाउने चलन छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *