एजेन्सी । इजरायली सेनाले शनिबार गाजा सिटी र सम्पूर्ण गाजा पट्टीमा आक्रमण तीव्र बनाएको छ ।
भूमिगत सुरुङ र विष्फोटक जडान गरिएका संरचनाहरू ध्वस्त पार्दा ६० जना प्यालेस्टिनी मारिएका छन् । इजरायली सेनाले गाजा सिटीका पूर्वी क्षेत्र नियन्त्रणमा लिएर शेख रादवान र तेल अल–हावा इलाकामा हवाई आक्रमण गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यी क्षेत्रबाट उनीहरूलाई शहरको केन्द्रीय र पश्चिमी भागतर्फ अघि बढ्न सजिलो हुने अनुमान गरिएको छ । गाजाका अधिकांश बासिन्दा यतै आश्रय लिएर बसेका छन् । इजरायली सेनाले गत दुई सातामा गाजा सिटीका करिब विस अग्ला भवनहरू ध्वस्त गरेको दाबी गरेको छ ।
सेप्टेम्बरदेखि करिब पाँच लाखभन्दा बढी मानिस गाजाबाट बाहिरिएको बताइएको छ । तर, हमासले यसलाई अस्वीकार गर्दै करिब तीन लाख मात्र निस्किएको र अझै नौ लाख मानिससहित इजरायली बन्धकहरू शहरमै रहेको जनाएको छ । हमासको सैन्य विंगले टेलिग्राममार्फत इजरायली बन्धकहरूको तस्बिरसहितको भिडियो सार्वजनिक गर्दै गाजामा जारी सैन्य कारबाहीका कारण उनीहरूको जीवन संकटमा परेको चेतावनी दिएको छ ।
अष्ट्रेलिया, बेल्जियम, बेलायत र क्यानडा लगायत दश देशहरूले सोमबारदेखि स्वतन्त्र प्यालेस्टिनी राष्ट्रलाई औपचारिक मान्यता दिन तयारी गरिरहेका बेला इजरायलले यस्तो आक्रमण गरेको हो । आगामी साताको संयुक्त राष्ट्रसंघ महासभा बैठकअघि स्वतन्त्र प्यालेस्टिनी राष्ट्र घोषणा गरिने बताइएको छ ।