काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग, नेपालका अध्यक्ष महेश थापाले आफूहरूको सन्देश सबै पालिकामा पुगोस् भन्ने सोच राखेको बताएका छन् ।
शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र आयोगहरूको भावी कार्य योजना बारे छलफल गर्न शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् । आयोगले तीन महिनाको अवधि दिएर नयाँ उजुरी सङ्कलन गर्ने काम थालेको छ ।
थापाले आफूले निर्देशन नभई सहजीकरण बाट काम गर्ने विश्वास व्यक्त गरे । उनले आयोगको सूचना तथा सन्देश ७७ वटै जिल्लाहरूमा पुगेको बताए । उनले उजुरी के कति आउँछन् भन्दा पनि उक्त सूचना देशभरका सबै पालिकाहरूसम्म पुगोस् भन्ने चाहेको बताए । थापाले आयोगको काम अड्किएको कुरामा दुई मत नरहेको तर कामै भएको छैन भन्नु सही नभएको बताए ।