समाज

आगामी बजेटमा हिमाल देख्न पाइयोस् : महामन्त्री शर्मा

आगामी बजेटमा हिमाल देख्न पाइयोस् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी बजेटमा हिमालका मुद्दा समेटिने अपेक्षा गरेका छन् । 

सगरमाथा क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पत्र लेख्दै उनले आगामी बजेटमा सम्मानित भरिया बिमा, व्यावसायिक आरोहीलाई पेन्सन, बेस क्याम्पमा सरकारी टावर स्थापना, सगरमाथामा प्रविधि र सरकारको पँहुच, ट्रेकिङ रुट नमासी सडक बनाउने, थुक्लामा यसै वर्ष झोलुङ्गे पुल बनाउने विषय समेटिने आग्रह गरेका हुन् ।  ‘हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा’सँग सम्बन्धित पत्रमा महामन्त्री शर्माले सो आग्रह गरेका हुन् । 
 
यसअघि महामन्त्री शर्माले सगरमाथा आधार शिविरबाट प्रधानमन्त्री ओलीलाई ‘जलवायु परिवर्तन र न्यायः नेपालले गर्नुपर्छ नेतृत्व’ विषय सम्बन्धी पहिलो पत्र लेखेका थिए । उनले सोलुखुम्बुको लुक्लादेखि बेस क्याम्पसम्म र बेस क्याम्पदेखि ‘क्याम्प ३’ को नजिकसम्म पुग्दैगर्दा उनले त्यहाँ आफूले देखेका समस्या, अभाव र चुनौती बारेमा प्रधानमन्त्री ओलीलाई पत्रमार्फत अवगत गराएको जानकारी दिए । 

उनले सगरमाथा र अन्य सबै हिमाललाई जलवायु परिवर्तनको चपेटाबाट जोगाउने सङ्कल्पसाथ शुरु ‘सगरमाथा संवाद’ विस्तारित गरेर नेपालले यो ‘एजेन्डा’मा विश्वस्तरीय नेतृत्व लिनुपर्ने उल्लेख गरेका छन् । 

“अविलम्ब निर्देशन होस्, बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै सन्तुलन मिलाउनु नै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, यो बजेटमा हिमाल देख्न पाइयोस्”। महामन्त्री शर्माको पत्रमा उल्लेख छ ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *