काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । चर्को विरोध र सत्तारूढ दलबाटै दबाब थेग्न नसकेपछि सरकार सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबाट पछि हटेको हो । जेनजी पुस्तालाई आन्दोलन रोक्न भन्दै माग सम्बोधन गरेको उनले बताए ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री गुरुङले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा नआउने बताए । गृह मन्त्री रमेश लेखकले भने राजीनामा दिएको उनले जानकारी दिए । सरकारले जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूलाई उचित राहत उपलब्ध गराउने र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय भएको बताए ।
मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । मन्त्रालयले गत भदौ १० मा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो । यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगेर प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन नआउने जानकारी दिएको बताएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले मेटा र एक्सले आफूहरूलाई हेपेको गुनासो गरे ।
