काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकारले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आज सानेपामा आयोजित डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर बिषयक कार्यक्रममा सभापति देउवाले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिएपनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पुर्याएको भन्दै त्यसमा सरकारले ध्यान दिन आवश्यक रहेको बताएका हुन् । सभापति देउवाले प्रविधिको क्षेत्रमा धेरै कामहरु अझै गर्न बाँकी नै रहेको बताए ।
सभापति देउवाले सबै मिलेर प्रविधिमैत्री, नवप्रवaर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताए । डिजिटल प्लेटफर्मको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सभापति देउवाले कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले अहिले नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको जिकिर गरे ।
सभापति देउवाले डिजिटल प्लेटफर्मको सकारात्मक प्रयोग गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पुर्याउन सक्ने र सचेत, जिम्मेवार र नैतिक प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताए ।
कांग्रेस, सधैं नवप्रवर्तन र प्रविधि मार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको सभापति देउवाले बताए ।