काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरुको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् । शाहीले आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भएपनि वैदेशिक रोजगारमा रहेका नागरिकहरुको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए ।
उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरुको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो गर्न पर्दैन ? भन्दै प्रश्न गरे । वैदेशिक रोजगारीको नाममा आजपनि लाखौं मानिसहरु दलालबाट ठगिएको उनको भनाइ छ । वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कुटनीतिक पहल गर्न नसकेको शाहीको आरोप छ ।
शाहीले वैदेशिक रोजगारीको लागि जहाँ गएपनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण पनि गराए ।