सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने चालकको भनाइअनुसार तीन जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो । दुर्घटनापछि प्रहरी चौकी रत्नावती र खाङसाङबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा तीन महिलाको शव फेला पारेको थियो ।
दुर्घटनामा घाइते चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक ओखलढुंगा निवासी करिब २९ वर्षीय आशिष बिष्ट बेहोस अवस्थामा रहेका छन् ।
खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ । सम्झनाकी १२ वर्षीया छोरी सिवानी राई तथा खोटाङको दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । दुवै जना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना अझै बेपत्ता रहेका छन् । उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा थप प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले उद्धार तथा खोजी कार्यसँगै दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा पर्ने उक्त स्थानमा रातिको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परेको गाडीमा कति जना सवार थिए र मृतक तथा बेपत्ताको पहिचानसम्बन्धी थप विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ ।
सुनकोशी नदीमा गाडी खसेकाले बेपत्ताको खोजी तथा उद्धारमा कठिनाइ हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
