एजेन्सी । इजरायली सेनाको गाजा सिटीमा जारी राखेको हवाइ र स्थलगत आक्रमणकाबीच दुई दिनमै ४८ हजार सर्वसाधारण पलायन भएका छन् ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय ओचाका अनुसार गत अगस्ट मध्यदेखि यातायात खर्च ब्यहोर्न नसकेपछी पैदल हिँडेर छिमेकी मुलकहरुमा पलायन भएका हुन् । जसमा अधिकांश महिला, बृद्धबृद्धा र घाइते बालबालिका रहेका छन् ।
अत्यधिक गर्मीकाबीच नाँगो खुट्टा पैदल हिँडिरहेका उनीहरुको अवस्था निकै नाजुक रहेको ओचाले जनाएको छ । यसैबीच ओचाका सहयोगी संस्थाहरूले १ हजार पाँचसय भन्दा बढी व्यक्तिहरूलाई मनोसामाजिक सहयोग, पानी, र स्वास्थ्य सेवा जस्ता आपतकालीन सहयोग प्रदान गरेको छ ।
इजरायली सेनाले गाजा सिटीलाई खतरनाक युद्ध क्षेत्र घोषणा गर्दै, त्यहाँका बासिन्दालाई दक्षिण र केन्द्रीय गाजाका भीडभाडयुक्त ‘मानवीय क्षेत्र’ तर्फ जान आग्रह गर्दै धमाधम पर्चा बितरण गर्नुका साथ इजरायली सेनाले हवाई वायु आक्रमण र बमबारी जारी राखेका छन् । जसका कारण ठूलो संख्यामा नागरिक हताहत भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।