काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थाबाट तालिम लिएका पूर्व नेपाली सेनाका अधिकृतहरुको भेला कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापति गौरव समशेर राणा प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए भने नेपाली सेनाका अर्का पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री विशेष अतिथिको रूपमा उपस्थित भएका थिए । सो कार्यक्रममा पाकिस्तानको राष्ट्रिय रक्षा विश्वविद्यालय (एनडीयू) को प्रतिनिधिमण्डल पनि सहभागी रहेको नेपाल स्थित पाकिस्तानी दूतावासद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै दूतावासका रक्षा सहचारी महोम्मद अली अल्भीले नेपाल र पाकिस्तानी सेनाबीचको द्विपक्षीय जीवन्त र सौहार्दपूर्ण सम्बन्धका बारेमा चर्चा गरेका थिए । उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानको निरन्तर सहयोग रहने उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका पूर्व प्रधान सेनापति राणाले पाकिस्तानी रक्षा संस्थाबाट नेपाली सेनाका अधिकारी र सैनिकहरूले पाएको क्षमता अभिवृद्धिले नेपाली सेना र समग्र संस्था दुवैका लागि ठूलो महत्व बोकेको उल्लेख गरे ।
नेपालका लागि पाकिस्तानमा राजदूत अबरार एच. हाश्मीले आफ्नो मन्तब्यमा पाकिस्तान र नेपालबीच जनता, सरकार र सेनाबीच आपसी विश्वास र द्वीपक्षीय सहअस्तित्वको सहकार्यले बलियो सम्बन्ध स्थापित गरेको उल्लेख गरे । उनले दुई देशबीचका सेनाहरुबीचको सम्बन्ध निरन्तर विकसित हुने र नयाँ उचाइ छुने विश्वास पनि व्यक्त गरे ।
राजदूत हाश्मीले भारतले पाकिस्तानमा गरेको अप्रत्याशित आक्रमणले सार्वभौमसत्ता, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको भन्दै निन्दा गरे । जसले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पारेको पनि उनको भनाई छ ।
पाकिस्तानले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ अन्तर्गत प्रतिक्रिया दिने अधिकार सुरक्षित राखेको पनि हाश्मीले बताए ।