काठमाडौं । संघीय संसद्का विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने षडयन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बिपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षडयन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकपछि विपक्षी दलका नेताहरुले उपसभामुखलाई हटाउन नहुनेमा सबै बिपक्षी दल एकमत रहेको बताए । विपक्षी दलहरुले संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजेको भन्दै यस्ता कदमलाई कुनै हालतमा सम्भव हुन नदिने निर्णय गरेका छन् ।
विपक्षीदलहरुले संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै यस्तो कदम राष्ट्रका लागि ठिक नभएको ठहर समेत गरेका छन् । यसअघि मंगलबार नै बसेको नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास भएको निष्कर्ष निकालेको थियो ।