काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढेको छ ।
खपत बढेसँगै आयातसमेत वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा साउन–जेठसम्म ५७ अर्ब ३६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।
गत वर्ष सो अवधिमा ५१ अर्ब ७६ करोड २६ लाख ७९ हजार रुपैयाँको चार लाख ८१ हजार मेट्रिक टन आयात भएको थियो । यो वर्ष गत आर्थिक वर्षको तुलनामा छ अर्ब रुपैयाँ बराबरको २५ हजार हजार मेट्रिक टन ग्यास आयात बढी हो ।
ग्यासको मागसँगै खपत बढेकाले आयातमा समेत वृद्धिको तथ्याङ्कले देखाएको छ । निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । सोही कोटा अनुसार ग्यास उद्योगीले ग्यासको आयात नियमित रूपमा गरिरहेका छन् । गर्मी समयको तुलनामा जाडो समयमा ग्यासको खपत १० प्रतिशतले बढ्ने गर्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् ।