समाज

तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दशैंको सामान बोकेका कन्टेनर अलपत्र

तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दशैंको सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं । अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दशैंका सामान बोकेका कन्टेनर बिभिन्न स्थानमा अलपत्र परेका छन् । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बिभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोलेका कन्टेनर सीमा पारी र राजमार्गका बिभिन्न स्थानमा अलपत्र परेका हुन् । 

सडक अवरुद्ध भएको ५० दिनभन्दा बढी समय भएपछि सरोकारवालाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्याकर्षणपत्र समेत बुझाइसकेका छन् । मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् ।

निर्देशनपछि सडक बिभागका अधिकारीहरुले स्थलगत निरिक्षण गर्दै तत्कालका लागि ६ मिटरको एकतर्फी सडक खोल्ने जानकारी गराएको सिल्क ट्रान्सपोर्टका निर्देशक बिजय शेर्पाले बताए । 

राजमार्ग अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेको र उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको व्यवसायीहरुले बताएका छन् । उनीहरुले सडक अवरुद्ध हुँदा सामान बोकेर लैजानुपर्दा दैनिक १० लाख भन्दा बढि खर्च भएको गुनासो गरेका छन् । 

उक्त सडकखण्ड पटक पटक अवरुद्ध हुने गरेकाले दिर्घकालीन सोचका साथ सडक निर्माण गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । सडक बिभागले पनि सडक खुलाउने बिषयमा मन्त्रालयमा छलफल गर्ने र चिनियाँ पक्षसंग पनि परामर्श गर्दै सडकखण्डलाई दिर्घकालीन सोचका साथ निर्माण गरिने जनाएको छ । 

दशैं लगायतका चाडपर्वका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा समेत ठुलो समस्या परेको छ । भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाउ समेत जोखिममा परेका छन् ।

स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउँदै आएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *