म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा बस्ति बसेदेखि शुरु भएको मौलिक बर्खेनाच देखाउने चलनलाई निरन्तरता दिएर संरक्षण गरिएको छ ।
नेपाल भाषा मंकाःखलः, मैजुःखलः र ल्यामःपुचःले एक महिनासम्म बर्खेनाच प्रर्दशन गर्ने चलनलाई निरन्तरता दिएका हुन् । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले बेनीमा जात्राकै रौनक दिने गरेको छ ।
बर्खे नाचमा लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने गरिन्छ । बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचान हो । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।
दुई सय वर्षअघिदेखि बर्खेनाच प्रर्दशन चलन शुरु भएको थियो । युवा पुस्ताको पलायन र पुराना पुस्ता नासिने क्रमसँगै पछिल्लो समय कलाकार अभाव भएपनि परम्परा र मौलिक संस्कृतिको जगेर्नालाई निरन्तरता दिइएको हो ।