काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले गौर हत्याकाण्डको निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका छन् ।
आज राजबिराजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतले दिएको परमादेशपछि सरकारले आफ्ना मान्छेलाई बचाउन र निर्दाेषलाई फसाउने षड्यन्त्र शुरू गर्ने सम्भावना रहेको बताएका हुन् ।
अध्यक्ष ठाकुरले गौर घटनासँगै मधेस आन्दोलनका क्रममा राज्यले गरेको ज्यादती र दमनसम्बन्धी परमादेशबारे पनि निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गरे ।
अध्यक्ष ठाकुरले रायमाझी आयोग, लाल आयोगलगायत मधेस आन्दोलनको छानबिनका लागि बनेका सबै आयोगका प्रतिवेदन सार्वजनिक गर्न ध्यानार्कषण समेत गराए ।
फरक प्रसंगमा निकट भविष्यमा मुलुकमा आउने खाद्य संकटले भयावह स्थिति सिर्जना गर्न सक्ने भएकाले राज्य सचेत रहनुपर्नेमा उनको जोड थियो ।