एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको एक लागूऔषध ढुवानी गर्ने डुङ्गा अमेरिकी सेनाले नष्ट गरेको दाबी गरेका छन ।
आक्रमणमा ३ जनाको मृत्यु भएको बताइएको छ । सेनाले अत्यन्तै हिंस्रक लागूपदार्थ तस्करी गर्ने गिरोह र नार्को–आतङ्कवादीहरूविरुद्ध दोस्रो आक्रमण गरेको ट्रम्पले दाबी गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले अमेरिकालाई ’आक्रमणकारी’ भन्दै चेतावनी दिएका थिए । उनले अमेरिकी राजनेता मार्को रुबियोलाई मृत्यु र युद्धका मालिकका रुपमा सम्बोधन गरेका थिए ।
यसैबीच, मादुरोले अमेरिकी कारवाहीलाई भेनेजुएलाविरुद्धको युद्धको संज्ञा दिएका छन् । हालै अमेरिकी सेनाले दक्षिण करिबियन क्षेत्रमा लागूपदार्थ नियन्त्रणको नाममा युद्धपोत परिचालन गरेको थियो । पहिलो आक्रमणमा ११ जनाको मृत्यु भएपछि दुबै देशबीचको तनाव झनै बढेको छ ।
कानूनी विज्ञहरूले अन्तर्राष्ट्रिय पानीमा भएको पहिलो प्रहार अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनसक्ने चेतावनी दिएका छन् । अमेरिका र बेलायतसहितका धेरै मुलुकले सन् २०२४ को भेनेजुएलाको निर्वाचनलाई मान्यता दिएका छैनन् ।
उनीहरूले विपक्षी उम्मेदवार एडमुण्डो गोंजालेजले भारी मतले जितेको भन्दै मादुरोको पुनःनिर्वाचनलाई अस्वीकार गरेका छन् ।
